नियम ३१
कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी व्यवस्था
: (१) प्रहरी कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कन गर्न अनुसूची–७ मा उल्लेख भए बमोजिमको ढाँचाको फाराम प्रयोग गरिनेछ ।
(२) प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन आर्थिक वर्षको हिसाबले वार्षिक रूपमा गर्न  पर्नेछ ।
(३) प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको कूल अङ्कको विभाजन देहाय बमोजिम हुनेछ :
(क) सुपरिवेक्षकले दिनसक्ने अधिकतम अङ्क – बीस
(ख) पुनरावलोकनकर्ताले दिन सक्ने अधिकतम अङ्क – दश
(ग) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम अङ्क – दश
(४) महानगरीय प्रहरी परिसर प्रमुख र जिल्ला प्रहरी प्रमुखको हकमा उपनियम (३) को खण्ड (क) बमोजिम सुपरिवेक्षकले दिने बीस अङ्कमा उपनियम (६) बमोजिमको सुपरिवेक्षक र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले दिन सक्ने अधिकतम अङ्क क्रमशः बाह्र र आठ   हुनेछ ।
(५) प्रहरी नायव निरीक्षक देखि प्रहरी अतिरिक्त महानिरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम वार्षिक रूपमा तीन प्रति तयार गरी एकप्रति मन्त्रालय, एक प्रति प्रहरी प्रधान कार्यालय र प्रहरी उपरीक्षकदेखि प्रहरी अतिरिक्त महानिरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीको हकमा एक प्रति लोक सेवा आयोगमा र अन्य प्रहरी कर्मचारीको हकमा सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ । प्रहरी सहायक निरीक्षक र सोभन्दा मुनिको दर्जाको प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम दुई प्रति तयार गरी एक प्रति बढुवा समितिको सचिवालय रहने प्रहरी कार्यालयमा पठाउनु पर्नेछ र अर्को प्रति सम्बन्धित प्रहरी कार्यालयमा राखिनेछ ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि क्षेत्रीय प्रहरी प्रमुखले कार्य सम्पादन मूल्यांकन फारम भरी तीन÷तीन प्रति सम्बन्धित क्षेत्रीय प्रशासक र प्रहरी अतिरिक्त महानिरीक्षक समक्ष तथा महानगरीय प्रहरी परिसर प्रमुख र जिल्ला प्रहरी प्रमुखले सम्बन्धित प्रमुख जिल्ला अधिकारी र उपनियम (७) बमोजिमको सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।
(७) देहायका पदका प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्नका लागि देहायका सुपरिवेक्षक तथा पुनरावलोकनकर्ता रहनेछन्ः–
imgimg
तर महानगरीय प्रहरी परिसर प्रमुख र जिल्ला प्रहरी प्रमुखको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले समेत उपनियम (४) को अधीनमा सुपरिवेक्षकको रुपमा कार्य सम्पादन मूल्याङ्कन गर्नेछ ।
(८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारीको सुपरिवेक्षक निज कार्यरत प्रहरी कार्यालयमा नभएको अवस्थामा निजको दैनिक कार्यमा रेखदेख एवं सुपरीवेक्षण गरिरहेको कार्यालयमा कार्यरत निजकोे सुपरिवेक्षकसँग समान दर्जाको अधिकृत वा सो दर्जाको अधिकृत नभए सोभन्दा एक तह माथिल्लो दर्जाको अधिकृतले त्यस्तो प्रहरी कर्मचारीको सुपरिवेक्षकको रुपमा अङ्क दिन बाधा पुगेको मानिने छैन ।
(९) उपनियम (७) बमोजिम पुनरावलोकनकर्ता हुने प्रहरी कर्मचारीले उपनियम (८) बमोजिम कुनै प्रहरी कर्मचारीको सुपरिवेक्षकको रुपमा अङ्क दिएमा त्यस्तो पुनरावलोकनकर्ता भन्दा एक तह माथिको दर्जाको अधिकृतले सम्बन्धित प्रहरी कर्मचारीको पुनरावलोकनकर्ता भई कार्य गर्नेछ । उदाहरणको लागि ः क्षेत्रीय प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी नायव उपरीक्षकको पुनरावलोकनकर्ता प्रहरी नायव महानिरीक्षकको सट्टा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव उपरीक्षक प्रमुख हुने जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी तालीम केन्द्रहरूमा कार्यरत प्रहरी निरीक्षकहरूको पुनरावलोकनकर्ता प्रहरी उपरीक्षकको सट्टा सम्बन्धित प्रहरी वरिष्ठ उपरीक्षक ।
(१०) प्रहरी जवान, प्रहरी सहायक हवल्दार, प्रहरी हवल्दार र प्रहरी वरिष्ठ हवल्दारको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछः–
(क) प्रहरी उपरीक्षक – अध्यक्ष
(ख) प्रहरी नायव उपरीक्षक – सदस्य
(ग) प्रहरी निरीक्षक – सदस्य
(११) प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी वरिष्ठ नायब निरीक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछ :
(क) प्रहरी नायव महानिरीक्षक – अध्यक्ष
(ख) प्रहरी वरिष्ठ उपरीक्षक – सदस्य
(ग) प्रहरी उपरीक्षक – सदस्य
(१२) प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्मको कार्य सम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछ :
(क) प्रहरी महानिरीक्षक – अध्यक्ष
(ख) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायव महानिरीक्षक – सदस्य
(ग) सहसचिव, मन्त्रालय (प्रहरी प्रशासन महाशाखा हेर्ने) – सदस्य
(१३) प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछ :
(क) सचिव, मन्त्रालय – अध्यक्ष
(ख) प्रहरी महानिरीक्षक – सदस्य
(ग) प्रहरी अतिरिक्त महानिरीक्षक (प्रहरी प्रधान कार्यालयका मानवस्रोत विकास विभाग) – सदस्य
(१४) प्रहरी अतिरिक्त महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछ :
(क) सचिव, मन्त्रालय – अध्यक्ष
(ख) प्रहरी महानिरीक्षक – सदस्य
(१५) प्रहरी महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कन गर्दा सुपरिवेक्षक तथा पुनरावलोकनकर्ताको कार्य मन्त्रालयका सचिवले तथा पुनरावलोकन समितिको कार्य देहायको समितिले गर्नेछ :
(क) नेपाल सरकारका मुख्य सचिव – अध्यक्ष
(ख) मन्त्रालयका सचिव – सदस्य
(१६) बढुवाको प्रयोजनको लागि कार्यसम्पादनको मूल्याङ्कनको अङ्क गणना गर्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कन फारामको औसतबाट हिसाब गरिनेछ ।
तर,
(क) यस नियमावली बमोजिम कार्यसम्पादनको मूल्याङ्कन भएको अवस्था नरहेको र बढुवाको प्रयोजनको लागि कार्य सम्पादन बापतको अङ्क गणना गर्नु पर्ने भएमा प्रहरी नियमावली, २०४९ बमोजिम भरिएका पछिल्ला आर्थिक वर्षहरुका कार्य सम्पादन मूल्याङ्कन वापत हुन आएको एकमुष्ट अङ्कलाई पूर्णाङ्क चालीसमा परिणत गरी सोही बमोजिम प्राप्ताङ्क निर्धारण गरिनेछ ।
(ख) यस नियमावली बमोजिम बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको कार्य सम्पादन मूल्याङ्कन फाराम आवश्यक पर्ने हो त्यसको प्रयोजनको लागि पहिलो वर्षको लागि यस नियमावली बमोजिम भरिएको कार्य सम्पादन मूल्याङ्कनको अङ्क र अघिल्लो तीन वर्षको खण्ड (क) बमोजिम, दोश्रो बर्षको लागि पछिल्लो दुई वर्षको यस नियमावली बमोजिम भरिएको कार्य सम्पादन मूल्याङ्कनको अङ्क र अघिल्लो दुई बर्षको लागि खण्ड (क) बमोजिम, तेश्रो बर्षका लागि पछिल्लो तीन वर्षको यस नियमावली बमोजिम भरिएको कार्य सम्पादन मूल्याङ्कनको अङ्क र अघिल्लो एक बर्षको लागि खण्ड (क) बमोजिमको औषत अङ्क गणना गरिनेछ ।
(ग) बढुवाको सम्भाव्य उम्मेदवार हुन चार वर्ष भन्दा बढी सेवा अवधि आवश्यक पर्ने पदको हकमा पछिल्लो चार वर्षको कार्य सम्पादन मूल्याङ्कन फारामको औसतबाट हिसाब गरिनेछ ।
(१७) वैदेशिक अध्ययन वा वैदेशिक तालीममा गएको वा निलम्बन भई निलम्बन फुकुवा भएकोमा त्यस्तो अवधिको कार्यसम्पादन मूल्याङ्कन वापत त्यस्तो अध्ययन वा तालीममा जानुभन्दा वा निलम्बन हुनुभन्दा तत्काल अघिल्लो वर्षको कार्यसम्पादन मूल्याङ्कन भएको रहेछ भने सोही वर्षको र त्यस्तो कार्य सम्पादन मूल्याङ्कन भएको रहेनछ भने हाजिर भएपछि भरेको कार्यसम्पादन मूल्याङ्कनमा जति अङ्क पाएको छ सोही अनुपातमा नै अङ्क गणना गरिनेछ ।
(१८) संयुक्त राष्ट्रसंघको सेवाको लागि मिशनमा गएको अवधिको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रयोजनको लागि त्यस्तो मिशनमा खटिएको प्रहरी कर्मचारीले कार्य सम्पादन मूल्याङ्कन फाराम भरी उक्त मिशनमा नेपाल प्रहरीको तर्फबाट खटिएको सम्बन्धित जेष्ठ कमाण्डरको सिफारिस सहित प्रहरी प्रधान कार्यालयको युएन शाखा मार्फत निजको सुपरिवेक्षक समक्ष पठाउनु पर्नेछ । तर जेष्ठ कमाण्डरको हकमा निजले आफ्नो कार्य सम्पादन मूल्याङ्कन फाराम भरी प्रहरी प्रधान कार्यालयको युएन शाखा मार्फत निजको सुपरिवेक्षक समक्ष पठाउनु पर्नेछ ।
(१९) प्रहरी कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन फाराम देहाय बमोजिमको अवधि भित्र भरी देहाय बमोजिम पठाउनु पर्नेछ :
(क) प्रत्येक प्रहरी कर्मचारीले उपनियम (५) मा उल्लेख भए बमोजिमको संख्यामा कार्यसम्पादन मूल्याङ्कन फाराम भरी श्रावण ७ गतेभित्र सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।
(ख) सुपरिवेक्षकले आफूकहाँ प्राप्त कार्यसम्पादन मूल्याङ्कन फाराम मूल्याङ्कन गरी श्रावण मसान्तसम्ममा पुनरावलोकनकर्ता समक्ष पेश गर्नु पर्नेछ । तर प्रमुख जिल्ला अधिकारीले आफूसमक्ष पेश भएको कार्यसम्पादन फाराम मूल्याङ्कन गरी श्रावण मसान्तसम्ममा एक प्रति मन्त्रालय र एक प्रति प्रहरी प्रधान कार्यालयमा सिलबन्दी गरी पठाई एक प्रति आफ्नै कार्यालयमा सिलबन्दी रुपमा राख्नु पर्नेछ ।
(ग) पुनरावलोकनकर्ताले आफूसमक्ष सुपरिवेक्षकबाट पेश भएको कार्यसम्पादन मूल्याङ्कन फाराम मूल्याङ्कन गरी भदौ २२ गतेभित्र पुनरावलोकन समितिको मूल्याङ्कन प्रयोजनको लागि प्रहरी प्रधान कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।
(घ) पुनरावलोकन समितिले असोज २२ गतेसम्ममा कार्यसम्पादन मूल्याङ्कन गरि सक्नु पर्नेछ र यसरी मूल्याङ्कन गरिएको फाराम सिलवन्दी गरी सुरक्षित राख्नु पर्नेछ ।
(२०) कार्यसम्पादन मूल्याङ्कन फाराम भर्दा अनुसूची—८ मा उल्लिखित निर्देशिकालार्ई समेत पालना गर्नु पर्नेछ ।
(२१) कुनै प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराममा प्रदान गरिएको अङ्क निजले सम्पादन गरेको काम तथा दक्षताको स्तरसँग अस्वभाविक देखिन आएमा सम्बन्धित सुपरिवेक्षक र पुनरावलोकनकर्तालाई सो उपर पुनमूल्याङ्कन गरी पठाउनका लागि पुनरावलोकन समितिले त्यस्तो फाराम सिलबन्दी गरी फिर्ता पठाउन सक्नेछ ।
(२२) उपनियम (२१) बमोजिम प्राप्त हुन आएको फाराममा सुपरिवेक्षक वा पुनरावलोकनकर्ताले पुनमूल्याङ्कन गरी ७ दिनभित्र पुनरावलोकन समितिमा सिलबन्दी गरी पठाइसक्नु पर्नेछ ।